Uncategorized


मंगलवार १.०२ प्रतिशतले घटेर १४४९.९४ बिन्दुमा आइपुगेको छ , शेयर बजार

1.8K

साउन ६, काठमाडौं । कारोबारको पहिलो दिन आइतवार तीनपटकको सर्किट लागेर ६ प्रतिशतले बढेको शेयर बजारले दोस्रो दिनदेखि भने घट्दो क्रम पछ्याएको छ । सोमवार ०.९५ अंकले घटेको नेप्से परिसूचक मंगलवार १.०२ प्रतिशतले घटेर १४४९.९४ बिन्दुमा आइपुगेको छ । मंगलवारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन कुल रू. १ अर्ब ८७ करोड २२ लाखभन्दा बढीको शेयर खरिदविक्री भएको छ । ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत ०.८३ प्रतिशतले खस्किएको छ । मंगलवार कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयरको कारोबार भएको छ । यस दिन कारोबारमा आएको १२ समूहमध्ये व्यापार, होटल, निर्माण तथा प्रशोधन र म्युचुअल फण्डबाहेक अन्य सबै समूहको परिसूचक घटेका छन् । मंगलवारको कारोबारमा जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको परिसूचकमा सबैभन्दा कम ०.७ प्रतिशतको कमी आएको छ । यस दिन सबैभन्दा बढी गुमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीको शेयरमूल्य ९.८० प्रतिशतले घटेको छ । घटेको बजारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सबैभन्दा बढी पटक शेयर कारोबार हुने कम्पनीमा पनि एनआईसी एशिया लघुवित्त नै रहेको छ । यसैगरी यस दिन हिमालयन डिस्टिलरी कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो । सबैभन्दा बढी कित्ता शेयर कारोबार हुनेमा भने एनएमबि बैंक लिमिटेड रहेको छ । कम्पनीको कुल ३ लाख १६ हजार ८३ कित्ता शेयर खरिदविक्री भएको छ ।

Must View