४ बुँदे सहमतिपछि बालकुमारी घटनामा मारिएका युवाका परिवार शव बुझ्न तयार
504
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको अत्यधिक बल प्रयोगबाट मारिएका दुई जना युवाका आफन्तहरू चौथो दिन शव बुझ्न तयार भएका छन् । सोमबार सरकारसँग चारबुँदे सहमतिपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन् ।
सोमबार भएको वार्तामा मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने र शव सम्बन्धित जिल्लामा सरकारले पुर्याउने सहमति भएको छ ।
बालकुमारी गत शुक्रबार दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाह मारिएका थिए । आज गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तका तर्फ वीरेन्द्रका बाबु टेकबहादुर शाह तथा रावतका मामा टेकबहादुर कटुवालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । रावतको शव ललितपुरस्थित किस्ट अस्पतालमा राखिएको छ भने शाहको शव पाटन अस्पतालमा छ ।