नागरिक पोष्ट News


मनमैजुमा यःमरी जोगाउन महोत्सवको सुरुवात

693

काठमाडौं । नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।

नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । मनपरेको रोटी वा मनपर्ने रोटीलाई एःमरी भनिन्छ । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन झी नेवाः मिसा पुच मनमैजु लागी परेको छ ।

झी नेवाः पुचःले आज ज्यापु महागुथी नेपाः मनमैजु फुसिंख्यसँगको सहकार्यमा मनमैजुको लोकतान्त्रिक चोकमा यःमरी महोत्सवको आयोजना गरेको थियो । दिउँसो १२ बजेदेखि नासाल चोकदेखि विभिन्न नेवारी भेषभुषासहित पुरानो बस्तीमा बाजागाजा झाँकीसहित ¥याली गरेर २० औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्हिको कार्यक्रम गरेको थियो । ¥यालीले बस्ती र मन्दिर परिक्रमा गरेपछि लोकतान्त्रिक चोकमा साँझसम्म महोत्सव गरेको झी नेवाः मिसा पुच मनमैजुकी अध्यक्ष सानुदेवि महर्जनले जानकारी दिएकी छिन् ।

महोत्सवले युवापुस्तामा यःमरीको महत्व बुझाउन सहयोग पुगेको उनले बताइन् । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उनको धारणा छ । ‘नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ’, अध्यक्ष महर्जनले भनिन्, ‘मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।’

पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यःमरीको गणेश, बुद्ध, कुवेर, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष महर्जनले बताइन् ।

नेवार समुदायमा महत्व बोकेको यःमरीलाई औषधिका रुपमा पनि प्रयोग गर्न सकिनेछ । मनमैजुका स्थानीय लक्ष्मण महर्जनकाअनुसार ‘‘यःमरी औषधिका रुपमा पनि खाने प्रचलन रहेको छ ।’, उनले भने ‘यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।’

परम्परागत परिकार जोगाउन तारकेश्वर नगरपालिकाले पनि साथ दिनुपर्ने तारकेश्वर वडा नं। ९ का वडासदस्य श्यामकृष्ण महर्जनले बताएका छन् । वडा कार्यालयले कला, संस्कृति र बाजागाजाको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले यःमरी जोगाउन पनि लाग्नुपर्ने बताएका छन् । ‘यःमरीलाई लोकतान्त्रिक चोकमा राखेर अन्य समुदायका नागरिकहरुलाई चखाउन पनि सहयोग गरेको छ । महोत्सवमा यःमरी र नेवारी खाजा खानेको बाक्लो भिड नै लागेको थियो ।

मनमैजुमा पहिलोपटक भएको आजको महोत्सवमा करिव ५०० जना जतिले यःमुरी चाख्नुका नेवारी खाजा खाएका कुरा तारकेश्वर ९ का पूर्व वडासदस्य सानुकान्छा महर्जनले जानकारी दिनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न हौसला मिलेको महर्जनले बताएका छन् ।

Must View