नागरिक पोष्ट News


अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्भे” सम्बन्धी २ दिने कार्यशाला गोष्ठी

1.6K

काठमाण्डौं । शर्मिला विश्वकर्मा र कुशल न्यौपाने, नेपलगंञ्ज राष्ट्रिय अपाङ्ग महासंघ नेपालले  यही पुस १४ र १५ गते २ दिन ूअपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्भे ” सम्बन्धी कार्यशाला गोष्ठी नेपालगंञ्जमा सम्पन्न गरेको छ ।

 सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय एवम् युएनडिपीको आर्थिक सहयोगमा नेपालगंञ्जमा आयोजना गरिएको २ दिने कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने विभिन्न संघ संस्थाहरूका प्रतिनीदहरूले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएको तर  तथ्याङ्क लिने क्रममा  राज्यले अपाङ्गताको विविधतालाई संवोधन गर्न नसक्दा नेपाल सरकारले सञ्चालन गर्ने जनगणनाबाट अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क आउन नसकेको गुनासो गर्नु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सात वटै प्रदेशका अध्यक्षहरूले विगतमा सञ्चालन भएका राष्ट्रिय जनगणनाहरूले अपाङ्गता भएका व्यक्तिहरूको सही तथा यकिन तथ्याङ्क प्राप्त हुन नसकेकोले राज्यका विभिन्न तह र तप्कामा उनीहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको कारणले गर्दा राज्यले प्रदान गर्ने सेवा सुविधामा कटौती हुँदै गएको अवस्था रहेको, अपाङ्गता भएका व्यक्तिहरूको विस्तृत तथ्याङ्क लिनको लागि राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरूलाई मात्रै लक्षित गरेर छुट्टै गणना गर्न सकेमा मात्रै अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क आउने कुरामा जोड दिनु भएको थियो ।   

उक्त २ दिने कार्यशाला गोष्ठीमा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कको बारेमा जानकारी  र  अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क लिनका लागि राज्यले अवलम्बन गरेका प्रयासहरूको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा जनगणना २०७८ को तथ्याङ्कलाई खण्डीकृत गरी अब छिटै नै अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क सहितको तथ्याङ्कीय प्रतिवेदन प्रकाशन गर्न गइरहेको कुरा पनि बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्कलाई विस्तृत विश्लेषण गरी प्रतिवेदन तयार भए पछि अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइएका ऐन कानुन तथा नीति नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्न सहज हुने बताउनु भयो । साथै उहाँले यस तथ्याङ्किय प्रतिवेदनले अपाङ्गता भएका व्यक्तिहरूका छुटेका तथ्याङ्किय सवालहरूलाई महासंघले सन् २०२४ मा गर्ने राष्ट्रिय अपाङ्गता सर्वेक्षणको प्रश्नावलीमा समेटिने कुरालाई जोड दिनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सञ्चालन गर्नु भएको सो २ दिने कार्यशालामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय कार्यसमिति सदस्यहरू, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि सहित २३ महिला र ३३ पुरुष गरी ५६ जनाको सहभागिता रहेको थियो ।

 

Must View