बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
679
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले शुक्रबार ज्यान गुमाएका थिए । सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन समेत गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सो घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन विशेष निर्देशन दिएका हुन् । उनले भनेका छन्,‘आज दिउँसो बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनामा २ जना युवाको मृत्यु भएकोप्रति गहिरो दुख व्यक्त गर्दछु । घटनाको सत्यतथ्य छानबिनको लागि समिति गठन भइसकेको छ । छानबिनको काम छिटो र प्रभावकारी बनाउन विशेष निर्देशन गर्दछु।’