२०० नेपाली रुसी सेनामा भर्ना भएको जानकारी आएको छ -परराष्ट्रमन्त्री
1.1K
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको उनले बताए । राष्ट्रिय समाचार समितिसँग अन्तर्वार्ताका क्रममा मन्त्री साउदले काम, अध्ययन र भ्रमणको सिलसिलामा रुस पुगेका करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका हुन् । ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ’, मन्त्री साउदले भने ।