नागरिक पोष्ट News


सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरकारलाई सुझाव

0.9K

काठमाडौं, । सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाले सुझाव दिएका छन् ।  मिडिया एड्भोकेसी ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘स्टेकहोल्डर कन्सल्टेसन अन डीरेक्टिभ्स् फर म्यानेजिङ द युज् अफ सोसियल नेटवर्क्स् २०२३’ कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदी, वरिष्ठ पत्रकार एवम् सरोकारवालाबीच यस निर्देशिका सम्बन्धमा छलफल भएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सरकारको तर्फबाट सामाजिक सञ्जाल व्यवस्थापन र नियमनको लागि मस्यौदा समितिका संयोजक सुवेदीले मस्यौदाले अन्तिम रुप पाउनुअघि सरकारले यस सम्बन्धमा थप छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो । सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापन कानुनी तहबाट गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो । 

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपका कार्यकारी निर्देशक बबिता बस्नेतले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० का सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो ।

सो क्रममा बस्नेतले नेपालको संविधान २०७२, सञ्चार सम्बद्ध कानुन, नीति तथा आचारसंहिता, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३, सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अन्तर्गत पूर्ण प्रेस स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता, सूचना र गोपनीयताको हक सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । 

यससँगै सामाजिक सञ्जालमा फेक आइडी, बेनामी, हेट स्पीच, मिथ्या एवम् भ्रामक सूचनाले पारेको असरलगायत गर्न हुने र नहुने गतिविधिलाई कसरी कानुनी रुपमा समावेश गरेर कार्यान्वयन गर्न सकिन्छ भन्ने धारणा राख्नुभयो ।

म्यागका अध्यक्ष अनिता बिन्दुले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० सम्बन्धमा छलफल गर्न आवश्यक रहेको भन्नुहुँदै यो अपूर्ण रहेको कुरा महसुस भएको बताउनुभयो ।

उहाँले अभिव्यक्ति स्वतन्त्रता खुम्चिने हो कि भन्ने विषय ख्याल गर्दै सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयलाई कानुनी रुपमा समावेश एवम् परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । सरकारले यस विषय विज्ञसँग बृहत् परामर्शका गर्न सके थप परिणाम आउने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, महेन्द्र विष्ट, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवालगायत सरोकारवालाको उपस्थिति थियो ।

Must View