सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण तथा असहायलाई सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल
1K
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन् । मकवानपुरको हेटौंडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए ।
‘विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ’, प्रधानमन्त्री दाहालले भने, ‘शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौं । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।’ मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उनले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।