नागरिक पोष्ट News


६ प्रतिशतको सर्किट लागेर नेप्से कारोबार नै बन्द, ३५ कम्पनीको मूल्यमा उच्च वृद्धि

1.2K

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तेस्रो पटकसम्म सर्किट लागेर कारोबार नै रोकिएको छ । यसअघि दुईपटक चार र पाँच प्रतिशत वृद्धिसँगै रोकिएको नेप्सेमा तेस्रो पटक ६ प्रतिशतको सर्किट लागेर कारोबार नै बन्द भएको हो ।

तीन पटकसम्म सर्किट लागेर कारोबार बन्द हुँदा नौ मिनेट मात्रै कारोबार भएको छ । आज ६ प्रतिशतको वृद्धि देखिएको परिसूचक १२ बजेर ९ मिनेट जाँदासम्म १११.२० बिन्दुले बढेकाे थियाे । नेप्से सूचक १९६३.९८ बिन्दुमा पुगेको छ । आज नेप्सेमा जम्माजम्मी ९ मिनेटमात्रै शेयर कारोबार भयो । यो अवधिभित्र १३ लाख ६७ हजार ६१५ कित्ता शेयर र ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस कारोबारको अवधिमा २२७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर छ । यसमध्ये पनि रिलायन्स फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर डुभलपमेन्ट कम्पनी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । आज इङवा हाइड्रोपावर लिमिटेड र त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

त्यस्तै, युनियन हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, सिंगटी हाइड्रो इनर्जि लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी, समाता घरेलु लघुवित्त वित्तीय संस्थासहित ३५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

Must View