सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसेकेको आरोप लगाएका हुन् ।
उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले विलम्व भएको जिकिर गरे ।
ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उठाउन सरकार डराइरहेको उनले बताए ।
ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।