नागरिक पोष्ट News


रवि लामिछानेमा पनि परम्परागत दलकै प्रवृत्तिः आफू निकटलाई पद

1.1K

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा जिम्मेवारी दिँदा परम्परागत दलकै नेतालाई अनुशरण गरेका छन्। परम्परागत दलका शीर्ष नेताहरू भद्दा कमिटी बनाएको र आफू निकटलाई मात्र जिम्मेवारी दिएको भनेर आलोचित भइरहँदा लामिछाने पनि उनीहरूलाई नै पछ्याउन पुगेका छन्।

पुराना दल र नेताले ‘राम्रालाई भन्दा हाम्रालाई’ काखी च्यापेको भन्दै आलोचना गरेर उदाएका लामिछानेले पनि आफू निकटलाई नै प्राथमिकता दिएका हुन्। उनले आफू निकटहरूलाई पदीय जिम्मेवारी दिन पार्टीको विधान नै संशोधन गरेका छन्।

राजनीतिमा होमिनुअघि लामिछानेले टेलिभिजन कार्यक्रममार्फत पुराना दलका नेतामाथि चर्को आक्रोश व्यक्त गर्ने गरेका थिए। उनले दलहरूको पारदर्शितालाई चुनावमा हतियार नै बनाए। तर उनै लामिछानेले आफ्ना हरेक निर्णय प्रक्रियालाई छोटो अवधिमा नै पुराना दललाई माथ खुवाउन लागेका छन्। लामिछानेको निर्णय प्रक्रियाबारे प्रश्न उठ्न थालेको छ। ‘राम्रोलाई भन्दा हाम्रो’लाई पद दिने पुराना दलकै प्रवृत्तिलाई उनले पनि पछ्याएका हुन्।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट राम्रो जनाधार भएकालाई पाखा लगाएर आफू निकटलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाइएपछि लामिछानेको आलोचना हुन थालेको छ। डेढ वर्षअघि गठन भएको पार्टीमा उनले ७ दशक पुराना पार्टीको जस्तै भद्दा पदाधिकारी टिम बनाएका छन्।

पदाधिकारी १३ सदस्यीय र केन्द्रीय समिति ६४ सदस्यीय बनाइएको छ। उनले आफू निकट विपीन आचार्यलाई सहमहामन्त्री, दीपक बोहरालाई सहकोषाध्यक्ष तथा रमेश प्रसाईँ र प्रतिभा रावललाई सहप्रवक्ताको जिम्मेवारी दिएका छन्।

यी चारै जना लामिछानेले पार्टी गठन गर्नुअघि उनी कार्यरत टेलिभिजनमा आबद्ध थिए। बोहरा र आचार्य लामिछानेका विश्वासपात्र हुन्। उनीहरूको न जनाधार छ, न त उनीहरू विचार दिन सक्ने व्यक्ति हुन्। संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका र जनतामा राम्रै रुचाइने मनिष झालाई भन्दा आचार्य र बोहरालाई माथि राखिएको छ।

प्रसाईँसँग राम्रो जनाधार भए पनि आचार्य, बोहरा र रावलले भने लामिछानेसँगको सम्बन्धकै कारण पद पाएको रास्वपाकै नेताहरू बताउँछन्। सुरुदेखि नै उपसभापति रहेका डीपी आर्याल पनि लामिछानेकै विश्वासपात्र हुन्।

संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका विराजभक्त श्रेष्ठ संसदीय दलको उपनेता छन्। कतिपय बेला आफ्नो आलोचना गर्ने उनलाई लामिछानेले पदाधिकारीमा ठाउँ दिन आवश्यक ठानेनन्।

लामिछानेले पदाधिकारी २१ सदस्यीय र केन्द्रीय समिति १२१ सदस्यीय बनाउन मिल्ने गरी विधान संशोधन गरिएको छ। 

रास्वपाको विधानको धारा २५ मा केन्द्रीय कार्यसम्पादन समिति ११ सदस्यीय रहने व्यवस्था थियो। ‘पार्टी सभापतिद्वारा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट १० जना नियुक्त गरी आफूसहितको ११ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति (सभापति १, उपसभापति २, महामन्त्री १, सह-महामन्त्री २, कोषाध्यक्ष १, सह- कोषाध्यक्ष २, प्रवक्ता १, सहप्रवक्ता १) गठन गरिनेछ,’ विधानमा उल्लेख थियो।

Must View