नागरिक पोष्ट News


जनता आवास कार्यक्रमः एक हजारबढी घर निर्माण

672

हेटौँडा । बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् ।

उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार २३ घर निर्माण सम्पन्न भएका जानकारी दिए । उनका अनुसार अनुसार सङ्घबाट हस्तान्तरण भएका चार सय ६५ मध्ये दुई सय ३० घर निर्माण सम्पन्न भएका छन् ।

धादिङमा एक सय ९१, मकवानपुरमा ७५, चितवनमा एक सय १६, रसुवामा ३४, नुवाकोटमा ७३, सिन्धुलीमा चार सय ९२, दोलखामा ३९ र काभ्रेपलाञ्चोकमा तीन घर निर्माण सम्पन्न भएका पुनले जानकारी दिए ।

रामेछापमा ५० घर बन्नुपर्ने देखिए पनि सम्झौता नभएको भन्दै सिन्धुपाल्चोकमा पनि हालसम्म सम्झैता नभएको उनले बताए । घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको रू ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच र चितवनमा एकजना रहेका मन्त्रालयको सहरी विकास तथा भवन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मकवानपुरका मनहरि, कैलाश र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

Must View