नागरिक पोष्ट News


भाइटीकाको विधि यस्तो :तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ

1.2K

काठमाडौं ।  तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ । भाइटीकाको अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् ।

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

दिदीबहिनी र दाजुभाइ मिलेर पूजा सामग्री तयार गर्छन् । पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ ।

त्यसपछि भाइटीका लगाउन सुरु गर्नुअघि केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ ।

लथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।

त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ ।

दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता, लाभा आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ ।

त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका विभिन्न स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ ।

भाइटीका लगाउँदा कता फर्किने

 तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

Must View