नागरिक पोष्ट News


चन्द्रागिरिमा प्याराग्लाइडिङ, कति लाग्छ शुल्क

1.2K

काठमाडौँ । उपत्यका नजिकको चर्चित गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने सुनुवार बताउँछन् ।  चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौँ उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको  समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमशृङ्खलाने जो कोहीलाई मोहित बनाउँछ ।

कम्पनीले चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौँबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने-आउने सुविधा उपलब्ध हुनेछ । फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कसरी गर्ने बुकिङ ? 

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ । जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।

प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’ को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

Must View