नागरिक पोष्ट News


कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना

651

काठमाडौँ । दशै पर्वलाई  पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । 

शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा  हस्तकला, हार्डवेयर र खानाका विविध परिकारसहित एकसय भन्दा बढि स्टलहरू राखिएका छन् ।  शान्ति फाउण्डेसनका संस्थापक शान्ति लामाले यस मेलामा बालबालिकालाई लक्ष्यित गरी मनोरञ्जनात्मक खेल,स्थानीय कलाकारहरूको नृत्य, गीतको प्रस्तुतीसहित दशैं पर्वमा आवश्यक तथा दैनिक जीवनमा आवश्यकता पर्ने कपडादेखि श्रृङ्गार, खेलकुद, सजाउने सामाग्री र खानाका थुप्रै परिकार महोत्सवमा उपलब्ध रहेको जानकारी दिनुभयो ।

उहाँले विशेष गरी महिलाले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणका लागि मञ्च उपलब्ध गराउने लक्ष्यले फाउण्डेसनको पहिलो प्रयास स्वरूप महोत्सवको आयोजना गरी उपभोक्ता वर्गलाई सस्तो सुलभ सामग्री दिने प्रयास गरिएको बताउनुभयो । 

त्यसैगरी रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर रजनी राई चित्रकारले महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीहरू एकै थलोमा बेच्ने ठाउँको प्रवन्धको लागि दशैं महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालीहरूको महान चाड दशैं पर्वमा चोभारको मञ्जुश्री पार्कमा आएर उपभोक्ताहरूले सुलभ मुल्यमा आवश्यक सामान किन्न सकुन् र महिला उद्यमीले पनि आफुले उत्पादन गरेको वा खरिद गरेर बेच्न राखिएका विभिन्न सामानहरू थुपारेर राख्नुभन्दा सस्तो मुल्यमा कम नाफा राखेर बेच्ने अवसरका लागि दशै महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

यस महोत्सवमा बाँस, निगालो, थाकल,मकैको खोस्टा, बावियो, छ्वाली, काठ, माटोबाट बनेका हस्तकलाका आकर्षक सामग्रीहरू राखिएका छन् । ढाका, पस्मिनालगायत हातले घरेलु तानमा बुनेका कपडाहरू, हार्डवेयरका सामग्री, जुत्ता, चप्पल,खुकुरीहरू पनि छन् । त्यसैगरी सिलाम, अचार, महलगायतका खाद्य सामग्री र खेलौना, महिलाका लागि श्रृङ्गारका सामग्रीहरूसहित थुप्रै खानाका परिकारका स्वाद लिन महोत्सवमा आउन आयोजकले आग्रह गरेका छन् । यस महोत्सव कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।   

Must View