बेनी अस्पताल : ‘बेड’ थपियो, जनशक्ति थपिएन
म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेको अस्पतालका प्रमुख चिकित्सक डा। अञ्जु थापाले बताइन् ।
‘विसं २०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ’, उनले भनिन्, ‘म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।’
विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ ।
नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोझ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।
‘जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै परेको छैन’, उनले भने, ‘सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ ।’
जनशक्ति अभावका कारण सघन उपचार कक्ष ९आईसीयू० सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र यूएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदन नै नपरेको प्रमुख डा। थापाले बताइन् ।
दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।
अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।