भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।
सो क्रममा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अर्बौँको लगानी हुँदा धेरै वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नुपर्ने बताए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी निर्यातमा ध्यान दिनुपर्ने जिकिर गरे ।
देशभित्रै प्रशस्त स्रोत हुँदा पनि बिदेशबाट काठजन्य वस्तु आयात गर्नु सुखद विषय नभएको भन्दै उनले स्वदेशी काठको प्रयोगमा सहजीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने जिकिर गरे ।
नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ ।