राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म मुलुकको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।
२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमध्ये, भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड र त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ ।
आयरल्याण्ड २० अर्ब ९० करोड, सिङ्गापुर १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।