प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने
छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमण गर्दैछन् ।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज चीनको छिङछोङ सहरबाट ल्हासाका लागि प्रस्थान गर्दै छन् । उनी स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहने छन् ।
यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर पुगेका थिए । यहाँ उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरूको जानकारी लिएका थिए ।