नागरिक पोष्ट News


ज्येष्ठ नागरिक समाज सेवी सहित सञ्चारकर्मी शर्मिला विश्वकर्मालाई  सम्मान

2.3K

काठमाडौँ । बाल सचेतना केन्द्र नेपालले आफ्नो १२ औ वार्षिक साधारण सभा कार्यक्रमको आयोजना गरी ४४ औ सामाजिक सेवा दिवसको अवसरमा समाजमा योगदान पुर्या्उनु हुने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा विगत १४ वर्ष देखि अपाङ्गता क्षेत्रलाई लक्षित गरी विभिन्न पत्रपत्रिका, अनलाइन र रेडियो मार्फत पत्रकारिता गर्दै आउनु भएकी शारीरिक अपाङ्गता भएकी, अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई निरन्तर रूपमा उठाउँदै, बजाउँदै, बोल्दै र लेख्दै आउनु भएकी सञ्चारकर्मी शर्मिला विश्वकर्मालाई उक्त कार्यक्रममा सम्मान पत्र सहित सम्मान गरियो ।

सम्मानित हुने अन्य विशिष्ट व्यक्तिहरूमा वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ, बौद्धिक अपाङ्गताका अभिभावक, समाज सेवी, अपाङ्गता अभियन्ता ८२ वर्षीय ज्येष्ठ नागरिक, समाज सेवी, साहित्यकार सुवर्ण केशरी चित्रकार सहित१९ जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको हो । यस कार्यक्रमका प्रमुख अतिथि तथा बुढानीलकण्ठठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले समाजले अपाङ्गता भएका व्यक्ति,  ज्येष्ठ नागरिकहरूको योगदानको मूल्याङ्कन तथा सम्मान गर्दै बालबालिकाहरूलाई अवसर प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी कार्यक्रम आयोजक संस्था बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयाँलले यस संस्था मार्फत कठिन अवस्थामा रहेका बालबालिकाहरूका साथै सबै नागरिकहरूलाई सक्दो सहयोग गर्दै आएको र यस सामाजिक कार्यलाई निरन्तरता दिने बताउँदै सम्मानित हुनु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सञ्चारकर्मी, समाज सेवी, ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने क्रममा ५ जना शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई स्कुल ब्याग, स्टेशनरी सामानहरू र केही आर्थिक रकम पनि प्रदान गरिएको थियो ।

Must View