नागरिक पोष्ट News


ललितपुर उद्योग वाणिज्य संघ:बज्राचार्य प्यानलको उम्मेदवारी घोषणा

0.9K

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४४ औँ अधिवेशनका लागि विश्वराज बज्राचार्य प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा आगामी असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि बज्राचार्य प्यानलको उमेदवारी घोषणा गरिएको हो ।

बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, तीन जना उपाध्यक्षमा मुकुन्द महर्जन,आपुलाल अवाले र राकेश भक्त गुल्मी रहेका छन्। त्यस्तै महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य उम्मेदवार छन्। “सम्मानजनक उद्योग र व्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार’’ भन्ने नारा बोकेर २२ सदस्यीय प्यानलको घोषणा गरिएको हो ।

हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आगामी चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको दाबी गरेका छन् । जिल्लाभित्र रहेका वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।

आफू निर्वाचित बनेपछि संघको आवाज व्यापारमा लागु गर्ने र तिनै तहका सरकार र वस्तुगत संस्थाहरुसंग व्यापारीका हरेक मुद्धा पुर्याई सम्बोधन गर्ने अध्यक्षको आकांक्षी बज्राचार्यले बताए ।

                                    अध्यक्ष पदका विश्वराज बज्राचार्य समूहको घोषणा पत्र

हाम्रा अवधारणाहरुका चार खम्बा :

पारदर्शी               : पारदर्शी, स्वच्छ र निष्ठाका साथ व्यापार व्यवसाय सञ्चालन गराउन उत्प्रेरित गर्ने ।

नेतृत्व विकास       : व्यवसायीक समुदायलाई आर्थिक रुपमा सवल र प्रभाव पार्न सक्ने नेतृत्वको विकास गर्ने।

सान्दर्भिकता          :  राज्य व्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै व्यावसायिक एकताका                                                    सान्दर्भिक कार्यक्रमहरुको योजना तथा सेवामा सहज वातावरणको निर्माण र वकालतका कार्यहरुलाई नियमन र                                              नियमित गर्ने ।

निरन्तरता               : पहिले र अहिले भएका उचित संस्थागत उद्देश्य र विचारलाई निरन्तरता दिदै सयम सापेक्ष आवश्यकता, सोच, र                                                सीपको  उच्च मूल्याइनका साथ नयाँ पिडीसम्म पुयाउन पहल गर्ने अनि पुस्तान्तरणमा जोड दिने ।

यस्तो छ १५ बुँदे प्रतिवद्धता

१. उद्योग व्यवसायीहरुको मागहरुमा शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

ललितपुर जिल्ला भरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरु र स्थानिय व्यवसायीहरुको सुझावका आधारमा समस्याहरुको पहिचान गरि उनीहरुको प्रत्यक्ष संलग्नतामा नीतिगत र विषयगत आवश्यकता पुर्ति गर्न स्थानीय, संघिय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरुको संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

२. नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने ।

व्यापार, व्यवसाय र उद्योग सम्बन्धी नीति, नियम, ऐन, कानुनलाई ब्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने पहल गर्ने तथा सरकारद्वारा जारी यस्ता ऐन, कानुनमा कुनै बुँदा बाझिएका वा अस्पष्ट छन् भने त्यसलाई स्पष्ट पार्न पहल कदमी गर्ने अनि अपुग कानुनी व्यवस्थालाई पुर्णता दिन सधैं अग्रसर रहने ।

३. संस्थागत सुशासनमा जोड दिने ।

संस्थागत सुशासनमा जोड दिदै कुनै पनि खाले भ्रष्टाचार जस्तैः ढिला सुस्ती, अनियमितता, नितीगत एवम आचराणत्मक (Political & Ethical) भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता (Zero Tolerance) नीति अपनाई व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्ता माझ विश्वासीलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।

४. औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवर्द्धन गर्ने ।

स्थानिय व्यापार, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि विश्वभरका औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवर्द्धनको माध्यमका रूपमा अन्तराष्ट्रिय रुपमा उभ्याउन, एक अर्का सँग सहकार्य, ब्यापक छलफल र वहस-पैरवी गर्ने ।

५. स्रोत साधान, सम्बन्धहरुमा पहुँच  पुऱ्याउने ।

व्यवसायी र उद्योगीहरुलाई आवश्यक स्रोत साधान, सम्बन्धहरुमा पहुँच, छुटको ब्यवस्था र वित्तिय सर्वसुलभतामा जोड दिदै गुणस्तर उत्पादनका लागि प्रोत्साहीत गर्ने ।

६. उत्पादनलाई Branding तथा कपि  राईट अवधारणालाई साकार बनाउने ।

कला नगरी ललितपुरलाई World Craft Council बाट Craft City को मान्यता प्राप्त भए अनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई  Branding तथा कपि राईट अवधारणलाई साकार पार्न ललितपुर महानगरपालिकासँग सहकार्य र कार्यन्वयनमा ससक्त पहल गर्ने ।

७. सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहन र वातावरण निमार्ण गर्ने ।

अनौपचारिक क्षेत्रबाट उत्पादीत वस्तुहरुलाई बजार ब्यवस्थापनमा सहजिकरण गरि केन्द्रिक्रित औपचारिक व्यवसाय गर्न उत्प्रेरित गर्नुका साथै सामाजिक उद्यमलशीलता (social | entrepreneur) मा लाग्न प्रोत्साहान र वातावरण निमार्ण गर्ने ।

८. साँस्कृतिक सम्पदा संरक्षणमा व्यवसायीहरुले  खेलेको भूमिकालाई उजागर गर्ने । 

मूर्त (Tangible) र अमूर्त (Intangible) सम्पदा संग जोडिएका शिल्पी, कलाकार र व्यवसायीहरुलाई आर्थिक उपार्जन र दिगो साँस्कृतिक व्यवसायमा लाग्न प्रेरित गर्ने र उहाँहरुको व्यवसनयलाई औपचारिक व्यवसायको रुपमा विकाश गर्दै उनिहरुको व्यवसायले समाजमा पुर्याउँदै गरेको साँस्कृतिक सम्पदा संरक्षणको भुमिकालाई उजागर गर्ने ।

९. विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तब्य स्थानको रुपमा पहिचान र विकास गर्ने । 

कला नगरी ललितपुरमा पर्यटन प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै ललितपुर महानगरपालिको सहकार्यमा यस संघको अवधारणा बमोजिम पहिचान भएका ५ वटा सम्पदा रुटहरुलाई थप प्रचार प्रसार र व्यवस्थित गर्दै अन्य पर्यटकीय स्थलको पहिचान सहित अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटन विकास गर्ने ।

१०. स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पुऱ्याउने ।

स्थानिय व्यापार व्यवसायलाई बढवा दिन स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पुऱ्याउने कार्ययोजना तयार गरि कार्यन्वयनमा जोड दिने ।

११. जिल्ला भित्रका उद्यमी- व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको पहिचान गर्ने ।

ललितपुर जिल्ला भित्रका उद्यमी- व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको (उदाहरणको लागि दक्षिण ललितपुरको सम्भाव्य कृषि जन्य उद्योग तथा उत्पादनको प्रचुर सम्भावनालाई मध्यनजर राख्दै यस भेगको कृषिजन्य उत्पादनको बजारीकरन र ब्यवस्थापन गर्ने) पहिचान गरी त्यसको ब्यवस्थापनका लागि आवश्यक अनुशन्धान तथा परियोजनात्मक कार्ययोजना तय गर्ने ।

१२. संघको भुमिका, महत्वलाई सूचना पुलका रुपमा ससक्त बनाउने ।

ललितपुर उद्योग वाणिज्य संघको भुमिका, महत्वलाई सूचना पुलको रुपमा अझ ब्यापक र प्रभावकारी बनाउने ।

१३. व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने ।

व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने, त्यस्ता मेलाहरूमा स्थानिय व्यापार व्यवसायीहरुका लागि सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने

१४. व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउने ।

उद्योग व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै, व्यवसायी र समुदाय बीचको सम्बन्धलाई बलियो बनाउने ।

१५. व्यवसायीहरुको हितलाई ध्यानमा राख्दै पर्यावरण तथा वातावरणीय मुद्धाहरुमा सचेतना जगाउने ।

उद्योग व्यवसायका लागि उपभोक्ता एवम आम नागरिकको ब्यापक सर्मथन जुटाउन जलवायु परिवर्तन, स्थानिय पर्यावरण तथा वातावरणीय मुद्दाहरु लगायतका क्षेत्रमा व्यवसायीहरुको भुमिकालाई प्रभावकारी बनाउने ।

Must View