नागरिक पोष्ट News


उपभोक्ता महंगीको मारमा, बजार अनुगमनका लागि सरकारसंग छैन जनशक्ति

791

काठमाडौं  । आइतबार नेपाली बजारमा सुकेको प्याज किलोको ६१ रुपैयाँ थियो । सोमबार कालिमाटी तरकारी तथा फलफूल बजारमै प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो प्याज आइतबार किलोको १ सय ३६ रुपैयाँ रहेकोमा सोमबार १ सय ९३ रुपैयाँमा बिक्रि गरियो ।

एक रातमै प्याजको बजार मूल्य ४१ प्रतिशतसम्मले बढाइएको छ । आइतबार भारतले प्याजको निकासीमा ४० प्रतिशत कर लगाउने सूचना निकालेको मसी सुक्न नपाउँदै नेपाली बजारमा व्यापारीले मनोमानी मूल्य बढाएका हुन । तर पनि सरकातले अनुगमन गर्न सकेको छैन ।

प्याजमात्र होइन गोलभेडा, चामल, दाल, जिराको मूल्य पनि आकासिएको छ। एक महिनाअघि मोटा चामल बोराको १६ सय रुपैयाँ रहेकोमा अहिले खुद्रा बजारमै १९ सय रुपैयाँ पर्छ । जिरा मसिनो २५ किलोको बोरा १९ सयदेखि २ हजार रुपैयाँ पर्नेमा अहिले २२ सय रुपैयाँ पर्छ ।

असार पहिलोसाता प्रतिकिलो १७० रुपैयाँ पर्ने मासको दाल अहिले खुद्रा बजारमा २१० रुपैयाँ पर्छ । उपभोक्ताको भान्सामा दैनिकजसो प्रयोग हुने जिरा प्रतिकिलो ६ सय रुपैयाँ रहेकोमा अहिले थोकबजारमै १३ सय रुपैयाँ पुगेको छ। चिउरा, चना, खानेतेल, मैदालगायतका अधिकांश बस्तुको मूल्य पछिल्लो एक महिनामै ५० देखि ६० प्रतिशतसम्मले बढेको छ।

महंगी बढेको छ तर उपभोक्ताको आम्दानी भने बढेको छैन । बरु आर्थिक मन्दीले आम्दानी घटेको छ । व्यापारीले मनोमानी रुपमा मूल्य बढाउँदा सरकारको उपस्थिति कमजोर छ । जनशक्ति अभावकै कारण बजार अनुगमनलाई प्रभावकारी बनाउन नसेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुर बताउनु हुन्छ । विभागमा जम्मा ४१ जना कर्मचारी छन् । त्यसमा पनि अनुगमनका लागि १० जना छन । थोरै जनशक्ति भएका कारण दिनमा धेरैमा पनि ४,५ स्थानमा भन्दाबढि अनुगमन गर्न सक्ने अवस्था नरहेको उहाँ स्वीकार गर्नुहुन्छ ।

बजारमा सरकारको उपस्थिति कमजोर हुँदा ब्यापारीलाई भने दशै आएको छ । अर्थात मनोमानी मुल्य कायम गर्न पाइएको छ ।

Must View