मानव बेचबिखनबाट प्रभावित महिलाले समाजमा पुनस्थार्पनाको समस्या झेलिरहेका छन्
काठमाडौँ । मानव बेचविखन विरूद्धको १७ औं राष्ट्रिय दिवसको सन्दर्भमा एटविनद्वारा आयोजित कार्यक्रममा सहभागी प्रभावितले रोजगारीको समस्याले वैदेशिक रोजगारीमा जाँदा वा आन्तरिक रूपमै ठगिएर बन्धक श्रमिक बन्नुपर्दा उद्धार भएपछि पनि घरपरिवार तथा समाजमा पुनस्थार्पना नै हुन नसकिएको पीडाबारे बोल्नुभएको हो ।
त्यसैगरी स्वदेशमै पनि मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिक महिलाले पनि आफ्नो पेशाबारे ढाँटेर बस्नुपर्ने,व्यवसायी(साहु)ले तोकेभन्दा कम तलबमा बढि समय काममा खटाउने, नियुक्ति पत्र नदिने रेष्टुरेन्ट, दोहोरी, पव, मसाज पार्लरमा आउने ग्राहकले हेपेर श्रमिकमाथि दुव्र्यवहार गर्ने समस्याबारे जानकारी गराएका हुन् ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कानुन शाखा प्रमुख उपसचिव निर्मला गुरूङले रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक ठगिमा पर्ने समस्याले उद्धार तथा राहतकै समस्यामा बढि काम गर्नुपरेको बताउनुभयो । विशेष गरी महिला श्रमिकको हकमा सरकारले घरेलु कामदारका लागि बैदेशिक रोजगारीमा जान रोक लगाएपछि भारतलगायतका देशमा गएर अवैध बाटोबाट विदेश जाने प्रवृत्तिले झनै जोखिम निम्तिएको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यका सन्दर्भमा आयोगले काम गर्दै आएकोमा महिलाले श्रमिकको रूपमा स्वतन्त्र भएर काम गरेर आत्मसम्मानका साथ बाँच्न पाउने हकका लागि सरकारलाई सिफारिस गरेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जाँदा वा स्वदेशमै आन्तरिक बेचबिखनबाट प्रभावित महिला तथा किशोरीलगायतलाई अल्पकालिन पुनस्थार्पना गृह तथा मनोपरार्श सेवा आवश्यक परेमा आयोगको ११४५ हेल्पलाइनमार्फत जत्तिबेला पनि सम्पर्क गर्न सकिने बताउनुभयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका महिला विकास अधिकृत विश्वमाया न्यौपानेले मानव बेचबिखन विरूद्ध जागरण फैलाउन मानव बेचबिखन विरूद्धको दिवस मनाउँदै यस सम्वन्धी काममा योगदान दिने व्यक्ति संस्थालाई समेत पुरस्कार र सम्मानको व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने देशभरका ४२ वटा संस्थाहरू आवद्ध रहेको एटविनले आन्तरीक तथा वैदेशिक रोजगारीका क्रममा मानव बेचबिखनबाट प्रभावित व्यक्तिको न्याय तथा राहत उद्धारका लागि नीतिगत पैरवी, राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय महासन्धीहरूको कार्यान्वयनको लागि काम गर्दै आएको बताउनुभयो ।
शक्ति समुहकी अध्यक्ष चरीमाया तामाङले वि.स. २०५३÷५४ देखि मानव बेचविखन विरूद्ध आवाज उठाउँदै आउँदा मानब बेचिन क्रमको शैली फेरिनुको साथै यस सम्वन्धी सचेतना पनि बढेको अनुभव सुनाउँदै यसबारे सधैं आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा अभिन्ताद्वय सन्ध्या श्रेष्ठ र नीता गुरूङले आन्तरीक तथा बैदेशिक रोजगारीका क्रममा मानव बेचबिखनबाट प्रभावित र श्रमको मुल्य नपाएका महिला श्रमिकबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
एनविनका अध्यक्ष सीता पौड्यालले मानव बेचविखन विरूद्धको लडाईंमा सामाजिक अभियन्ता, नागरिक समाज र राज्यको संयुक्त पहलमा नीतिगत व्यवस्थामा सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
प्रहरीको तथ्याङ्क अनुसार २०७९÷८० साउनसम्म मानव बेचविखन विरूद्धको ९६ वटा मुद्दा परेका छन् भने ११ जना पुरूष र ११८ जना महिला बेचबिखनबाट प्रभावित भएका छन् । शिवा ।