नागरिक पोष्ट News


दुई दिने क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न

2.1K

शर्मिला विश्वकर्मा, काठमाडौँ  ।अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँले यही भदौ १५ र १६ गते दुई दिन काठमाडौँमा CFLI/ FCIL को साझेदारीमा दल सम्बद्ध अपाङ्गता भातृसंगठनका लागि दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  ।

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले राज्यका हरेक निकायहरूमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित हुनु पर्ने विषयमा आफ्नो तर्फबाट आवाज उठाई रहेको अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले राजनीति अपाङ्गता भएका व्यक्तिहरुका लागि अति अनिवार्य रहेको भन्दै आफ्नो राजनीतिक प्रवेशको अनुभव सुनाउदै राजनीतिक अधिकार सुनिश्चितका लागि सबै राजनीतिक दलहरुलाई यस विषयमा जागरूक गराउनु पर्ने बताउनु भयो । 

यस दुई दिने प्रशिक्षण कार्यक्रमका क्रममा अपाङ्गता अधिकारकर्मी तथा प्रशिक्षक मनिष प्रसाईँले प्रशिक्षण दिनु भएको थियो । यस क्रममा उहाँले क्षमता विकास तथा पैरवीको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको नागरिक, राजनैतिक अधिकार प्रवर्धनको बुझाई, जनवकालत तथा पैरवी, अधिवाचन लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो । यस दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि तथा राजनीतिक अधिकार, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका ऐन तथा कानुनहरूको विषयमा पनि जानकारी गराउनु भएका थियो । 

यस प्रशिक्षण कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ति केन्द्र काठमाडौँका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै राजनीतिक दलहरू सचेत हुनु पर्ने, अपाङ्गताका विषयमा सबै भातृसंगठनहरुले ती राजनीतिक दलहरुको ध्यानाकर्षण गर्नु पर्ने, यस प्रशिक्षण कार्यक्रममा सिकेको सीपलाई आफू आवद् राजनीतिक दलहरूमा उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । 

यस कार्यक्रममा विभिन्न समूह मार्फत अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारको सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ का कुन कुन धाराका कुन बुँदाहरूले राजनीतिक अधिकार तथा अन्य सहभागिता व्यवस्था गरेको छ र अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्न तथा अर्थ पूर्ण सहभागीताका लागि के गर्नु पर्दछ भनेर समूहगत रूपमा छलफल गरिएको थियो । साथै आफू आबद्ध राजनीतिक दलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका लागि के कस्तो माग गर्न सकिन्छ भनेर कार्य योजना तथा माग पत्र पनि तयार गर्न सिकाइयो ।

Must View