नागरिक पोष्ट News


‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो -सुरक्षा पन्त

1.3K

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको गाह्रो लागेको सुरक्षा सुनाउँछिन् ।   त्यसको कारण हो, समाजको संवेदनशिल पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो । यद्यपि, जति धेरै इन्फमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक फिल्ममा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका फिल्मबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् । त्यसका लागि केही पूर्वं तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् । फिल्मकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’ एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरु लिइन् र अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशिलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’ डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन्, त्यसपछि उनी फिल्मलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन्’ उनले भनिन्, ‘तर, म चाहीँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’ फिल्मको कथा तह–तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।

Must View