नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले विभिन्न शीर्षकमा करिब २५ प्रतिसतसम्म छुट दिने
काठमाडौँ । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिसतसम्म छुट गर्ने भएको छ ।
समुहद्वारा बुधवार आयोजित कार्यक्रमबीच मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष कविता पाण्डे र अस्पतालका निर्देशक स्वरूपा श्रेष्ठबीच उपचार सेवामा छुट गरिने सम्वन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डा.मुरारीमान श्रेष्ठले सो अस्पतालमा क्यान्सर रोगको उपचार सेवा लिन जाने एकल महिला र उहाँको १८ वर्ष मुनिका सन्तानका लागि “रेडियोलोजी, ल्याबसेवा, बेड शुल्कमा १० प्रतिसत, रेडियेसन थेरापी,ब्रान्च थेरापी र केमो दिनुपरेमा त्यसमा लाग्ने शुल्कको ५ प्रतिसत र निरोगी अभियान अन्तरगत होलवडी हेल्थकेयर परिक्षण शुल्कमा १० प्रतिसतका दरले छुट गर्ने गरी सम्झौता गरिएको बताउनुभयो । सो अस्पतालका निर्देशक स्वरूपा श्रेष्ठले अन्य रोगको तुलनामा क्यान्सर रोगको उपचार निक्कै खर्चिलो हुन्छ, एकल महिला र उनका सन्तानलाई अस्पतालले “वेलनेस प्याकेज अन्तरगत छुट दिने लक्ष्य अन्तरगत एक वर्षका लागि सम्झौता गरेको जानकारी दिनुभयो ।
बुढानिलकण्ठ नगरपालिकाका जनस्वास्थ विभाग प्रमुख कुमार प्रसाद दाहालले एकल महिला र उहाँका सन्तानका लागि लक्ष्यित गरी अस्पतालले विभिन्न शीर्षकमा उपचार सेवामा दिने छुट प्रतिसत समग्रमा २५ प्रतिसत हुन आउँछ भन्दै क्यान्सर रोग नै लागेका विरामीका लागि छुटले राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष कविता पाण्डेले एकल महिलाले सामान्य जीवनयापनकै लागि सङ्घर्ष गर्नुपरेको छ भने क्यान्सर जन्य खर्चिलो रोग लाग्दा उपचार गर्न ज्यादै कठिन छ, समुहको पहलमा सो अस्पतालले उपचार सेवामा छुट दिने सम्झौताले विरामीका लागि राहत पुग्ने आशा व्यक्त गर्नुभयो ।