नागरिक पोष्ट News


काठमाडौँ महानगरले कोभिडविरुद्धको खोप सञ्चालन गर्दै

1.1K

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते दुई दिन कार्यक्रम चलाइनेछ ।

यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते खोप चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए ।

यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।

अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेको खोप शाखाका प्रमुख डा. अभियान गौत्तमले जानकारी दिए ।

उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिबार खोप सञ्चालन हुनेछ ।

Must View