नागरिक पोष्ट News


मुलुकभर ७७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न

581

काठमाडौं ।  नेपालमा साउन १२ गतेसम्ममा ७७ प्रतिशत मात्र रोपाइँ भएको छ कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको साउन १२ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलका अनुसार गतवर्षको यसै समयमा देशभर ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

देशभर १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ, जसमध्ये हालसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले बताएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गतवर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा २ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकोमा हालसम्म २ लाख ३१ हजार ११२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले बताएको छ ।

मधेश प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गतवर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेश प्रदेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा २ लाख ९ हजार ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गतवर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ, यसमध्ये हालसम्म ८१ हजार ४२० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गतवर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा १ लाख ४ हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ, जसमध्ये हालसम्म ८५ हजार ७९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।

लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गतवर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख ३९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ, जसमध्ये हालसम्म २ लाख ४३ हजार ३१८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताए । गतवर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ३८ हजार सात सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार ९१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गतवर्ष यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा १ लाख ७१ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म १ लाख ६९ हजार ७६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले बताएको छ ।

Must View