नागरिक पोष्ट News


होचा / पुड्का व्यक्तिहरूको सुविधाको लागि सामुहिक बस्ती बसाउने लक्ष्यले जग्गाको खोजी (भिडियो सहित)

3.7K

सबु बसनेत, काठमाडौँ । होचा / पुड्का व्यक्तिहरूको सुविधाको लागि सामुहिक बस्ती बसाउने लक्ष्यले जग्गाको खोजी भइरहेको छ ।  होचा / पुड्का सङ्घ र अभियन्ता, समाजसेवी शान्त शर्माले होचा / पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार सुविधा हुने गरी  सामुहिक बस्ती बनाउन जग्गाको खोजी भइरहेको जानकारी गराउनुभएको हो । 

अभियन्ता शर्माले होचा / पुड्का समस्याबाट प्रभावित व्यक्तिहरूको शारीरिक बनावटका कारण अन्य व्यक्तिका लागि बनाईएका संरचनामा दैनिक जीवनयापन गर्न समेत कठिनाई हुने भएकोले उहाँहरूको लागि उपयुक्त हुने घर, बस्ती बनाउने अभियान अन्तरगत जग्गाको माग गर्न स्थानीय तहलाई अनुरोध गरिरहेको बताउनुभयो । 

उहाँले हाल होचा / पुड्का सङ्घमा आवद्ध २८ परिवारका छुट्टै घर र एकल रहेका महिला / पुरूषका लागि सामुहिक घरमा बस्नका लागि एक/एक वटा सामुहिक संरचना तयार गर्न एक करोड रूपियाँ लाग्ने अनुमान गरिएको बताउनुभयो । अभियन्ता शर्माले हाल तारकेश्वर नगरपालिकासँग कुरा भइरहेको र जग्गा पाए नक्सा बनेपछि घर बनाउन लाग्ने आर्थिक रकमको यकिन तथ्याङ्क आउने र त्यही अनुसार रकम  जुटाउन पारदर्शी ढङ्गले प्रस्ताव बनाउन सकिने बताउनुभयो । 

होचा / पुड्का सङ्घका अध्यक्ष समिता कुमारी दुलाल (विन्दा)ले वि.स. २०६५ सालमा होचा÷पुड्का व्यक्तिहरू सङ्गठित बनाउने, एक /अर्काको साझा समस्याको समाधान गर्ने र  आत्मनिर्भर बन्ने अभियानका लागि गठित सङ्घमार्फत देशभरका होचा / सङ्गठित भइरहेको बताउनुभयो ।

उहाँले होचा / पुड्का अपाङ्गता भएका व्यक्तिका लागि डेरा नपाउने, पाए पनि कोठा, शौचालयको चुकुल नभेट्ने, अग्लो व्यक्तिका लागि लक्ष्यित गरी बनाइएका धारा, लुगा सुकाउने स्थानको अभावलगायत थुपै्र समस्या झेल्दै बस्ने वाध्यता रहेको बताउनुभयो ।

सङ्घका सचिव कृष्णप्रसाद श्रेष्ठ “निश्चल”ले होचा / पुड्कालाई स्वास्थ्य समस्या बढि हुने, घरदेखि सार्वजनिक सेवा प्रदायक संस्थाहरू, अस्पताल, वैंक लगायतका सबै स्थानमा असुविधा छ, तर सामुहिक बस्तीको अभियान सफल भए कम्तीमा बस्ने ठाउँ सुविधायुक्त हुने आशा व्यक्त गर्नुभयो ।

उहाँले चीनलगायत अन्य देशमा होचा / पुड्काको सामुहिक बस्ती बनाएर पर्यटकीय लाभ समेत लिइरहेको सन्दर्भमा नेपालमा पनि त्यसैगरी फाइदा लिन सकिने, होचा÷पुड्काले सिपमुलक कामबाट आम्दानी गरेर आत्मनिर्भर बन्न सक्ने विचार व्यक्त गर्नुभयो ।   

&;

Must View