नागरिक पोष्ट News


बालबालिका सम्बन्धी विषयवस्तुहरूलाई आमसञ्चार माध्यमले प्राथमिकतामा नराखेको

623

भूमिकला पौडेल काठमाडौँ  । नेपाली आमसञ्चार माध्यमहरूले बालबालिका सम्बन्धी विषयवस्तुहरूलाई प्राथमिकतामा नराखेको एक अध्ययनले देखाएको छ । चाइल्ड नेपालद्धारा राजधानीमा आयोजित “नेपाली आमसञ्चारमा बाल संवेदनशिलताको अवस्था” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको एक अध्ययनमा सो कुरा देखिएको हो । नेपालका अग्रपंक्तिमा रहेका पाँच वटा अखबार तथा तिन वटा अनलाइन मार्फत दुई महिना अर्थात सन् २०२० को अगस्त देखि सेप्टेम्बरसम्म संप्रेषण गरिएका विषयवस्तुहरूलाई विश्लेषण गर्दा जम्मा दुई प्रतिशत मात्रै पूर्णरूपमा बालबालिका केन्द्रित विषयवस्तुहरू समेटेको देखियो, जुन अत्यन्तै दुःख लाग्ने पक्ष हो । 

अन्तरक्रियामा “नेपाली आमसञ्चारमा बालमैत्री अवस्था” विषयक सो अध्ययन सार्वजनिक गर्नुहुँदै संस्थाका सल्लाहकार डा. कुन्दन अर्यालले उहाँको नेतृत्वमा सम्पन्न उक्त अध्ययन कसरी गरियो तथा यसमा के कस्ता कुराहरू समेटिएका छन् भन्ने विषयमा प्रस्तुतिकरण गर्नुभयो ।  यस अध्ययनका विषयमा कार्यक्रममा आफ्नो विचार व्यक्त गर्नुहुँदै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले यस प्रतिवेदनमा बालबालिका केन्द्रित विषयवस्तुहरू नआएको संदर्भलाई मात्र अध्ययन नगरी बालबालिका केन्द्रित विषयवस्तुहरू किन समेटिएनन् त भन्ने विषयमा पनि अध्ययन गरेर राखिएको भए सत्यतथ्य कुरा थाहा हुने बताउँनु भयो ।

यसैगरी नेपाल प्रेस इन्टिच्युटका अध्यक्ष तथा बरिष्ठ पत्रकार तीर्थ कोइरालाले आमसञ्चार माध्यमहरूले राजनितीक विषयवस्तुहरूलाई वढि केन्द्रित गर्ने भएकाले बालबालिका केन्द्रित विषयवस्तुहरू नआएको हुन सक्ने विचार व्यक्त गर्दै यस अध्ययनले अबका दिनमा बालअधिकारको विषयमा गंभिर हुनका लागि मार्गनिर्देश गर्ने बताउँनुभयो । त्यसैगरी सिविनका कार्यकारी निर्देशक तथा बालअधिकारकर्मी सुम्निमा तुलाधरले आमसञ्चार माध्यमहरू बालअधिकारको विषयमा गंभिर हुन नसकेको औंल्याउँनु हुँदै बालबालिकाहरूलाई आमसञ्चार माध्यमहरूले विशेषगरी विचारा, दरिद्र, पिडितको रूपमा मात्रै जोडगरी समाचार पस्कने गरेकोले बालबालिकाहरूको आवश्यकता, छनौट तथा भावनाको सम्मान गर्न नसकेकोमा दुःख लागेको बताउँनुभयो । 

यस अन्तरक्रियाको सभापतित्व गर्नुहुँदै चाइल्ड नेपालका अध्यक्ष डा. कृष्ण सुवेदीले बालबालिकामा लगानी गर्नु भनेको भोलिको विकासका लागि लगानी गर्नु भएकोले यस विषयमा सबै गंभिर हुनुपर्ने बताउँनुहुँदै यसका लागि पत्रकार, सञ्चारकर्मी, सञ्चार माध्यम तथा बालअधिकारकर्मीहरू बिच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा सहभागि सञ्चारकर्मी तथा बालअधिकारकर्मीहरूले नेपाली आमसञ्चार माध्यमहरू बालअधिकारको विषयमा साच्चै नै गंभिर हुन नसकेको वास्तविकता पोख्नुहुँदै आगामी दिनमा यस विषयतर्फ आमसञ्चार माध्यमहरूको गंभिर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।   

 यस अन्तरक्रिया कार्यक्रमको संदर्भ पारेर “संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्धारा प्रश्तुत गरिने प्रतिवेदन” पनि हस्तान्तरण गरियो । बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरू, सो प्रतिवेदन तयार पार्ने क्रममा योगदान गर्नुहुने विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरू, पत्रकार तथा सञ्चारकर्मीहरूको समुपस्थितीमा नेपालको नागरिक समाजले तयार पारेको सो प्रतिवेदन संयुक्त राष्ट्र संघीय बालअधिकार समितिमा भर्चुअज रूपमा संप्रेषण गरिएको हो ।

चाइल्ड नेपाल बालअधिकारको क्षेत्रमा क्रियाशील एक अग्रणी नागरिक समाजको प्रतिनिधित्व गर्ने संस्था हो र यसले विगत लामो समय देखि बाल अधिकारका विषयमा पैरवी र वकालत गरिरहेको छ ।

Must View