सर्वोच्चको आदेश पालना गर्न अटेर गर्दै गौशालामा नगरसभा सम्पन्न
जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकाले सर्वोच्च अदालतको आदेश पालना गर्न अटेर गरेको पाइएको छ । नगरसभा कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविपरीत पालिकाले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।
उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपनि त्यसको अवज्ञा भएको छ ।
नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताए ।
‘सामाजिक सञ्जालमा कसले के हाल्छ, हामी पछि लाग्न सक्दैनौँ । हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उनले भने, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’