अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने समस्याबारे “पडकास्ट” तयार पार्न डेनमार्कस्थित सुसना कोच नेपाल (भिडियो सहित)
काठमाडौँ । सिन्धुपाल्चोकका पूर्ण दृष्टिविहिन हेम थापामगर वि.स. २०७२ को विनासकारी भुकम्प आउँदा खाना खाएर घरको माथिल्लो तलामा सानी छोरीसँग खेलिरहनुभएको थियो ।
शनिवारको दिन विहानभर किराना पसल खोलेर व्यापार गर्नुभयो, खाना खाएर श्रीमती कमला राई थापा गाउँम मिटिङमा जानुभएकोले केही समय आफ्नी २९ महिने छोरी हेर्दै बसिरहेको बेला एक्कासी हवाईजहाज उडे जस्तो, घर नजिकैबाट ठूलो ट्रक, बस गुडे जस्तै गरी आवाज आयो । उहाँ यो केको आवाज भनेर सोच्दै गर्दा घरको जस्ताको पाखो कुनाको भित्तोपट्टि भक्तिएर गयो भने उहाँ चाहि सानी छोरीलाई च्यापेर झ्यालपट्टि अडेस लागेर के भएको हो भन्ने थाह नपाए पनि बच्न खोज्नुभयो ।
यत्तिकैमा घर, गाउँका अन्य आफन्तलाई उहाँलाई घर बाहिर आउ भुकम्प आयो भनेर कराउन थाले तर टेक्ने सेतो छडी तल्लो तलामै छोडेको र धेरै हल्लीरहेकोले भ¥याङबाट ओर्लेर आउन सक्नुभएन ।
भुकम्प रोकिए जस्तो भएपछि उहाँ र छोरीलाई आफन्तले सुरक्षित ठाउँ, बारीको पाटातर्फ लगे । उता मिटिङमा जानुभएकी श्रीमती पानी खान जादा छिमेकीको घर एकैपटकमा गल्र्याम्म ढलेर थापामगरको श्रीमती र काकीको मृत्यु नै भयो ।
थापामगर जन्मदा दुवै आँखा देख्ने हुनुहुथ्यो । विस्तारै आँखामा समस्या भएर करिब १२ वर्षको उमेरसम्ममा आँखाको नसा सुकेर कक्षा ५ पढेपछि आँखा सधैंका लागि वन्द भए । आफु आँखा नदेख्ने भएपनि सवलाङ्ग महिला कमला राई थापासँग मायापिरती बसेर विवाह गरी एक सन्तानका बाबुआमासहित बनेर खुसीयालीपुर्वक बाँचिरहेको बेला भुकम्प जस्तो विपदले श्रीमतीसँग छुट्याएपछि उहाँ मानसिक समस्यामा पर्नुभयो ।
आफु बसिरहेको घर भत्किनु, छोरी २९ महिनाकी आमाको दुध खानुपर्ने बेलाको, स्कुलमा शिक्षक पेशा गरी घरको आर्थिक भार सम्हाल्दै पूर्ण दृष्टिविहिन आफु (थापामगर)लाई समेत हेरचाह गर्ने व्यक्तिको निधनले हेम थापामगरलाई गाउँमा बस्न लागेन । उहाँ गाउँ नै छोडेर राजधानीको कीर्तिपुरमा बस्न थाल्नुभयो ।
हाल धुप बत्ती बेच्दै जीवन धान्ने प्रयास गरिरहनुभएका थापामगरले छोरी र परिवार सम्हाल्न दृष्टिविहीन नै जीवनसाथी रोज्नुभएको छ । दोस्रो श्रीमतीबाट चार महिनाको छोरा पनि जन्मिएको छ ।
उहाँले भुकम्प, आगलागी, बाढीपहिरोलगायतका विपद्मा अपाङ्गता भएका व्यक्तिलाई निक्कै समस्या हुने बताउनुभयो ।
त्यस्तो विपद्मा सवलाङ्गलाई त गाह्रो हुन्छ भने विविध प्रकारका अपाङ्गता भएकालाई झनै समस्या पर्ने भएकोले राज्यले त्यस्ता व्यक्ति लक्ष्यित विपद्बाट जोगिने उपाय सिकाउनुपर्ने, उद्धार तथा राहत बाँड्दा प्राथमिकता दिनुपर्ने र स्थानीय तहले आफ्नो क्षेत्रको अपाङ्गता भएकालाई बढि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिका–२१ का खोकनाका राजभाई महर्जनको आँखाको ज्योति कुपोषणको कारण चार वर्षको उमेरमा गुम्यो । वि.स. २०७२ को भुकम्प जाँदा उहाँ ठूली छोरी र श्रीमतीसहित खेतमा आलु खन्दै हुनुहुन्थ्यो । खोकनाको पुरानो घरमा वृद्ध आमा र सानी दुई छोरी बसिरहेका थिए । सुरूमा खेत हल्लीदै ठूलो आवाज आयो, के भएको होला भनेर वरिपरीका व्यक्तिलाई सोध्दा ठुलो भुकम्प आयो भन्न थाले । आँखा देख्नेले टोलछिमेकको पुराना घर भत्किदै छारो उडेको बताए । उहाँलाई भने घरमा रहेका दुई छोरी र आमाको चिन्ताले सताउन थाले । जमिन हल्लीन कम भएपछि घर पुग्दा पुरानो घर भत्केर दुई छोरी र आमाको निधन भइसकेको थियो ।
उहाँले भन्नुभयो,“आफ्ना प्यारा मुटुका टुक्राहरू र जीवन दिने आमाको निधनको पीडा त जीवनभर भुल्न सक्दिन तर मेरो अर्को घर छ भनेर राज्यले भुकम्प पीडितका लागि घर बनाउन दिने राहत पाइन, अहिलेसम्म घर बनाएको ऋण तिर्न सकेको छैन ।”
उहाँले अपाङ्गता भएका व्यक्तिको जीवन अन्य समयमा पनि गाह्रो नै भने विपद्को बेला झनै समस्यामा पर्ने र यस्तो घटनामा धेरै जसो अपाङ्गता भएकाले ज्यान गुमाउने पनि बताउनुभयो ।
त्यसक्रममा दृष्टिविहीन सोमकुमार दुलाल,रमेश पोखरेल र पदम श्रेष्ठसँग पनि भुकम्पको बेलाको अनुभवबारे जानकारी लिइएको थियो ।
डेनमार्कस्थित डेनिस एसोसियसन अफ ब्लाइन्ड संस्थाका प्रोजेक्ट व्यवस्थापक सुसना कोच आन्डरसनले विपद्को बेला अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने समस्याबारे “पडकास्ट” तयार गर्न नेपाल नेत्रहिन सङ्घसँग समन्वय गरेर उहाँहरूसँग अन्तरवार्ता लिदा सो कुरा बताउनुभएको हो ।
पडकास्ट बनाउन लिइएको अन्तरवार्ताको क्रममा नेपाली तथा अँग्रजी भाषाको दोभाषेको काम नेपाल नेत्रहिन सङ्घका वरिष्ठ उपाध्यक्ष खुमराज शर्माले गर्नुभएको थियो ।
नेपाल नेत्रहिन सङ्घका निर्देशक नरबहादुर लिम्बुले डेनिस एसोसियसन अफ ब्लाइन्ड संस्थासँग नेपाल नेत्रहिन सङ्घले विगत पाँच वर्षदेखि सहकार्य गर्दै आएको बताउनुभयो । सङ्घका अध्यक्ष सुरेशचन्द्र नेउपानेले विपद्का समयमा राहत तथा उद्धारको कार्यक्रम बनाउँदा राज्यले अपाङ्गता भएका वर्गलाई नछुटाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।