नागरिक पोष्ट News


चलचित्र ‘गुराँस’ को वल्र्ड प्रिमियर शो चेक रिपब्लिकमा हुने

623

काठमाडौँ  चलचित्र ‘गुराँस’ को वल्र्ड प्रिमियर शो चेक रिपब्लिकको दि कार्लाेभी भारी  इन्टरनेसनल फिल्म फेस्टिभलमा हुँदैछ ।  यो चलचित्रको प्रिमियर शो मा भाग लिन अभिनेत्री मेनुका प्रधान पनि सहभागी हुने भएकी छिन्् ।मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो । उनले फेस्टिभलमा फिल्मको ‘युनिभसर्’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताएकी छिन् । ‘ मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘ तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ । अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’ फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन् । नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा  निर्देशक राई पनि सहभागी हुनेछन् । दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ ।  हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । चलचित्रलाई राई स्वयंले लेखेका हुन् । उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन् । ‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो । कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो । एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो । आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,’ उनले भने, ‘जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन् ।’ ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् ।  फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।  फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् । 

 

Must View