नागरिक पोष्ट News


अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास ‘द स्टारडस्ट इन अस’ लोकार्पण

553

काठमाडौं । युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास ‘द स्टारडस्ट इन अस’ लोकार्पण गरिएको छ । माइतीघरस्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. ईन्द्र कार्की, प्रोफेसर डा. राजनप्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गरेका हुन् ।

प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउँदै विषय वस्तु, पात्रहरुमार्फतको कथा आदिले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गरे । साथै उनले पढ्दै जाँदा अनिसको कौतुहलपूर्ण र सिर्जनसिल लेखनीले आफु बाँधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताए ।

सो अवसरमा कृतिकार घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजीव पात्रमार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात् तारा समेतलाई दृष्टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको बताए । कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्दैै उनले आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गरे ।

प्रोफेसर डा. राजनप्रसाद पोखरेलले लेखक घिमिरे आफनो सबैभन्दा मन पर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखनी विश्व स्तरको रहेको र आफुले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गरे । सेण्ट जेभियर कलेजका प्रिन्सिपल थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको भन्दै उनको यो कृतिले शिक्षासेवी सबैले प्रेरणा लिन सक्ने बताए ।

कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोलेका थिए । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा श्रस्टाहरुले गायन तथा कवितामार्फत मनोरंजन दिलाएका थिए । २७१ पृष्ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उक्त उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनीय रहेको प्रकाशकको दाबी छ ।

Must View