नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै
काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदैछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् । आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । 'सर्जक भएकाले सामजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाईएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छ', निर्माता सुरेशले भने । यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउदै आएकी छिन् । 'मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रुपमा तयार गरेकी छु', करिश्माले भनिन् । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ । कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।