लन्डनमा हुने गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने
काठमाडौं, नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका छन् । मेयर साम्पाङले आफुलाई धरानका विभिन्न परियोजनामा बेलायतबासी नेपालीहरुले धेरै नै सहयोग गरेको कुरा सो भेटमा निर्देशक चम्सलाई बताएका छन् । सो सहयोगको लागि धन्यबाद ज्ञापन गर्नका साथै अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भव्य प्रिमियरमा आफु अतिथिको रुपमा सहभागी हुन लन्डन जाने कुरा मेयर साम्पाङले निर्देशक चाम्सलाई बताएका छन् । प्रिमियर शोका लागि निम्तापत्र ग्रहण गर्दै मेयर साम्पाङले गोर्खालीहरुको सान मानिएको अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरले बीर नेपालीलाई विश्वव्यापी रुपमा चिनाउने विश्वास व्यक्त गरेका छन् । उनले सो प्रिमियरमा आफुलाई निम्ता गरेकोमा धन्यबाद ज्ञापन गरेका छन् ।