काठमाडौं महानगरद्वारा ८ अर्ब ३५ करोड राजस्व संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ अर्ब रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्षको असार ३ गतेसम्म विभिन्न शीर्षकबाट ८ अर्ब ३५ करोड ६२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ८०.२० प्रतिशत राजस्व संकलन गरेको हो ।
आन्तरिक आयबाट महानगरले यस अवधिमा ४ अर्ब ८० करोड २३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने बाँडफाँटबाट एक अर्ब ५८ करोड ४२ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक अनुदानबाट एक अर्ब ९६ करोड ९६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको महानगरले जनाएको छ ।
सम्पत्ति करबाट महानगरले ४८ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको तुलनामा ढ९.५ प्रतिशतले बढी हो । त्यस्तै, भुमिकर मालपोतबाट एक लाख ६३ हजार रुपैयाँ, घरबहाल करबाट ९७ लाख ४४ हजार रुपैयाँ, अन्य व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८५ हजार, पर्यटन शुल्कबाट २ लाख ८० हजार र अन्य सेवाशुल्कबाट ६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको महानगरले जनाएको छ ।
त्यसैगरी, न्यायिक दस्तुरबाट ६ सय रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट २ हजार, नक्सापास दस्तुरबाट ३५ लाख ६९ हजार, सिफारिस दस्तुरबाट २ लाख ४९ हजार, व्यक्तिगत घटना दस्तुरबाट ४ हजार ७ सय रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट २१ हजार ७ सय रुपैयाँ र व्यवसाय रजिष्ट्रशन दस्तुरबाट १४ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
महानगरले यस अवधिमा प्रशासनिक दण्ड, जरिवाना, र जफतबाट ६३ हजार ५ सय, बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृृद्धि करबाट २ करोड ५२ लाख ७३ हजार रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट १९५ रुपैयाँ गरी कुल ४ करोड ६३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।