सभामुखले उद्घाटन गरेको शैक्षिक मेला बालेनले किन गराए
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले एसईई र कक्षा १२का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै भृकुटीमण्डमा ‘८औं कान्तिपुर हिसान एडुफेयर २०२३’को आयोजना गरेको थियो। उक्त मेला असार ३ गतेसम्म सञ्चालन हुने बताइएको थियो।
सरकारले पाँच वटा सर्तसहित प्रदर्शनीका लागि स्वीकृति दिएको तर काठमाडौं महानगरले हिसानले महानगरसँग कुनै सम्वनय नगरी प्रदर्शनी राखेको, परीक्षाको नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य भएको हुँदा बन्द गरेको बताएको छ।
महानगरका सचिवालय सदस्य सस्मित पोखरेलको नेतृत्वमा आएको टोलीले १५:३० बजे बन्द कार्य सुरू गरेको र १६:१० बजे सम्पूर्ण स्टलहरू बन्द गरि टोली फर्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
महानगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले शैक्षिक मेला संचालन गर्न महानगरपालिकाबाट तोकिएको मापदण्ड पूरा भएपछि मात्र शैक्षिक मेला पुनः सुचारु हुने बताएका थिए।