चौथो हिमालयन ट्राभल मार्ट सकारात्मक सन्देशसहित भव्यताका साथ सम्पन्न
चौथो हिमालयन ट्राभल मार्ट (एचटीएम २०२३) विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता सहित विश्वव्यापी कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रीत रही सकारात्मक सन्देशका साथ काठमाडौँस्थित होटल याक एन्ड यती र होटल अन्नपूर्णमा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्था तथा निजी क्षेत्रका व्यवसायीहरुको विशेष सहयोग तथा सहकार्यमा पाटा नेपाल च्याप्टर द्धारा आयोजना गरिने चार दिने ट्राभल मार्ट नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुने देशकै प्रमुख एवं सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित भएको छ ।
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ज्यूले हिमालयन ट्राभल मार्ट२०२३ को समुद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई हिमालय प्रवेशद्धारको रुपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको प्रतिष्ठित हिमालयन ट्राभल मार्टको चौथो संस्करण नेपाल सरकारले आतिथ्यता एवम् आयोजना गरेकोमा खुशी तथा गौरव व्यक्त गर्दै नेपाल लगायत हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हिमालयन ट्राभल मार्ट प्रमुख मञ्च बनेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका श्रीमान सचिव श्री सुरेश अधिकारी ज्यूले उद्घाटन समारोहमा समापन मन्तव्य राख्दै मार्टमा सहभागी सबै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई स्वागत गर्न पाउँदा आफू खुसी भएको र ट्राभल मार्टले नेपालको पर्यटन सम्भाव्यता उजागर गर्दै विश्वभरका ट्राभल ट्रेड व्यवसायीहरूसँग सम्पर्क स्थापित गर्न उत्कृष्ट अवसर प्रदान गरेको र पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्यउने विश्वास व्यक्त गनुभयो ।
माननीय राज्यमन्त्री सुशीला सिरपाली ठकुरी ज्यूले नेपाल पर्यटनका लागि अथाह सम्भावनाको गन्तव्य भएकोले सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुले एकजुट भएर प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री विभूति चन्द ठाकुरले उपस्थित सबै प्रतिनिधि तथा अतिथिहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै उहाँले पर्यटन प्रवद्र्धन, विस्तार र दिगो विकासका लागि पाटा नेपालको भिजन, मिसनहरू तथा कार्ययोजना पेश गर्नुभयो । अध्यक्ष ठाकुरले पर्यटन नेटवर्किङ तथा व्यापार आदन प्रदानका लागि अनुपम अवसरहरू प्रदान गर्ने, पर्यटन सम्बन्धी समसामयिक विषय तथा मुद्दाहरुमा महत्वपूर्ण अन्तरदृष्टिहरु साझा गर्ने र गन्तव्य प्रवर्द्धनका लागि हिमालयन ट्राभल मार्ट नेपालको एक अत्यधिक सफल र प्रभावकारी अन्तर्राष्ट्रिय कार्यक्रम बनेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा लर्ड ब्रायन विल्की–मास्टर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर, पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन्जामिन लियाओ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत मन्तव्य राख्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नो विचारहरु व्यक्त गर्नुभयो । मार्टको उद्घाटन समारोहलाई ग्रीन च्वाडी नेचर रिट्रीटका थारु महिला समूह, तारकेश्वर भजन समूह, पाटा नेपाल स्टुडेन्ट च्याप्टर र सुरसुधा साँगितिक टोलीद्धारा प्रस्तुत मनमोहक सांस्कृतिक प्रस्तुतिले एक मनमोहक वातावरण सिर्जना गरेको थियो । उद्घाटन समारोह पश्चात प्रतिनिधिहरुलाई नेपाल पर्यटन बोर्डद्वारा आयोजित रात्रिभोजमा स्वागत गरिएको थियो ।