अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’
काठमाडौं । भारतले नयाँ संसद् भवनमा लुम्बिनी लगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।
भारतीय संसद्मा राखिएको म्युरेलका विषयमा सरकारका सरोकारवाला निकायसमेत प्रतिक्रिया व्यक्त गर्न डराएका बेला बालेनको ‘ग्रेटर जवाफ’को धेरलै तारिफ गरेका छन्। ‘यही हो स्वतन्त्र प्रतिनिधि हुनुको अर्थ। संसद्ले र प्रधानमन्त्रीले गर्ने हिम्मत नगरेको काम एक बालेनले गरिदिए,’ सामाजिक सञ्जालमा सुशन पण्डित लेख्छन्, ‘भारतलाई मौन काउन्टर जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे। यतिको हिम्मत हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक दलहरूले कहाँ गर्न सक्ने रु’
मेयर बालेन हाल भारतको बंगलुरुमा छन्। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले जनाएको छ। मेयरको कार्यकक्षमा बिहीबार राखिएको नयाँ नक्सा यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ।