नागरिक पोष्ट News


महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण

728

काठमाडौं । अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा राष्ट्रिय महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण पत्र बुझाइएको छ।

बुधबार आयोगको हलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका पदाधिकारी सहित अन्य अपाङ्गताका विभिन्न क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सदस्यहरु विद्या कुमारी सिन्हा, जया घिमिरे र सावीत्रा कुमारी शर्मा साथै आयोगका सचिव कमल बहादुर राजलवट सहित आयोगकै विभिन्न शाखाका शाखा प्रमुखहरु समक्ष उक्त १६ बुदेँ ध्यानाकर्षण पत्र बुझाइएको हो।

ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका महासचिव रमा ढकालले राष्ट्रिय महिला आयोगको वेबसाइट अपाङ्गतामैत्री बनाएकोमा धन्यवाद व्यक्त गर्दै आयोगको हट लाइन सेवालाई पनि अपाङ्गता मैत्री बनाउन आग्रह गरेकी छन्।

महासचिव ढकालले महिलाहरुको लागि बनाइएका सेफ हाउसहरुलाई अपाङ्गता मैत्री बनाउन समेत आग्रह गरीन्। उनले बहिरा अपाङ्गता भएका महिलाहरु हिंसामा परे पनि दोभाषेको व्यवस्था नहुँदा महिला आयोगमै उजुरी दिन नआउने समस्या रहेको बताएकी छन्। ढकालले यस्ता संबेदनशील बिषयमा आयोगले गम्भीरतापूर्वक लिएर सम्बोधनका लागि यथासक्य पहल कदमी लिन जोड दिएकी हुन्।

ढकालले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच वृद्दी गराउन छुट्टै निर्देशिकाको आवश्यकता भएकाले यस सम्बन्धी निर्देशिकाको लागि आयोगको तर्फबाट नेपाल सरकारलाई सिफारिस गर्न माग गरिन्।

श्रवण दृष्टिबिहिन अभिभावक समाज नेपालका अध्यक्ष लाक्पा नोरु शेर्पाले अपाङ्गता देखि मानव सूचाङकमा सबैभन्दा पछाडी परेको वर्ग नै श्रवण दृष्टिबिहिन अपाङ्गता रहेको बताए। उनले यो अपाङ्गता हुँदा व्यक्तिले सुन्न देख्न र बोल्न सक्दैनन् ,यस्तो अपाङ्गता भएका बालिका अथवा महिलाहरुले शिक्षा स्वास्थको कुरा त टाढाको कुरा हो कुनै हिँसा भए पनि कसैलाई भन्न वा देखाउन नसक्ने अवस्था रहेको समेत बताएका छन्।

अध्यक्ष शेर्पाले परिवारमा २४ घण्टा उनीहरुलाई हेर्नुपर्ने बाध्यता छ जसले ति अपाङ्गता भएका परिवारको आय आर्जनमा जोडिने सम्भावना छैन जसले परिवारका सदस्यहरुलाई नै मानसिक रुपमा विछिप्त हुने अवस्थामा पुर्याएको बताए। कार्यक्रममा बौद्धिक अपाङ्गता भएका स्व(वकालतकर्ता आयुष्मा मानन्धरले बौद्दिक अपाङ्गता भएका महिलाहरु अथवा व्यक्तिहरुको सवालमा रोजगारीको व्यवस्थाका लागि पहल गर्न आयोग समक्ष आग्रह गरेकिछन्। राष्ट्रिय महिला आयोगका सदस्य विद्या कुमारी सिन्हाले आयोगमा दोभाषेको व्यवस्था गर्ने विषयमा आगामी बोर्ड बैठकमा प्रस्ताव पेश गर्ने प्रतिबद्दता व्यक्त गरिन्।

ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले विगतको तुलनामा आयोगले पनि धेरै कुराहरुमा अपाङ्गता बहेका महिलाहरुका सवालहरु पनि प्राथमिकताका साथ् उठाइरहेको बताएकी छन्। उनले “हामीले अपाङ्गता भएका महिलाहरुको सवालमा राज्यलाई गरेका सिफारिसहरुको कार्यान्वयन भए नभएको बारे तत्कालै अनुगमन गर्नेछौँ । हट लाइन सेवा, सेफ हाउस तथा पुनस्थापना केन्द्रहरु अपाङ्गता मैत्री बनाउन र आयोगमा दोभाषेको व्यवस्थाका लागि पनि विशेष पहल गर्ने प्रतिबद्दता जनाएकी छन्।

Must View