नागरिक पोष्ट News


भिटामिन ‘ई’को कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, हिंड्न गाह्रो हुने, बिरामी महसुस हुने जस्ता लक्षणहरु देखिने

1.4K

काठमाडौं ।  सबैभन्दा बढी शरीरलाई चाहिने भिटामिन सी र डी जस्तै, भिटामिन ई पनि शरीरको लागि अतिआवश्यक तत्व हो । शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ ।

भिटामिन ईको कमी भएमा शरीरमा सामान्यदेखि गम्भीर खालका समस्या देखिन सक्ने पोषणविद् लीलबहादुर नेपाली बताउँछन् ।

 भिटामिन ईको कमी वनस्पतिको तेल, विभिन्न फलफूल र तरकारीका बीउ, सुख्खा फलफूल र हरियो सागसब्जीबाट पूर्ति गर्न सकिन्छ । बदाम, ओखर, सूर्यमुखीको बीउ, ब्रोकाउली र पालक, मासु, अण्डा साथै अन्य धेरै खाद्य पदार्थमा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ ।   भिटामिन ई एक घुलनशील तत्व हो । यसमा हुने ‘अल्फा कोटोफेरल’ले शरीरमा बिकार उत्पादन हुन दिंदैन ।

‘भिटामिन ई एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण भएकाले हाम्रो कोषिकाहरुलाई फ्री रेडिकलबाट जोगाउन मद्दत गर्छ,’ नेपाली भन्छन्, ‘अर्कोतर्फ जब हामी धुवाँ वा विकिरणको सम्पर्कमा आउँछौं, शरीरले खाद्य पदार्थ ग्रहण गर्दा बन्ने अणुहरूमा फ्री रेडिकल हुन्छ ।’

भिटामिन ई छाला र कपाल सुन्दर बनाउने भिटामिन भनेर पनि चिनिन्छ । यसले त्वचाको रुखोपन, चाउरी, समयभन्दा अगावै बुढो हुने तथा सूर्यको हानिकारक ‘अल्ट्रा भोइलेट’ किरणबाट बचाउन सक्ने पोषणविद् नेपाली बताउँछन् ।

यसले कुनै अंग भाँचिएको ठाँउमा जोड्न पनि मद्दत पुर्‍याउँछ । भिटामिन ईकै मद्दतले कोषिकाहरुलाई हानि पुग्न पाउँदैन । शरीरमा भिटामिन ईको मात्रा बढी हुने व्यक्तिमा मुटुरोगका खतरा कम हुने र स्तन क्यान्सरको लागि उपयोगी हुने विभिन्न अध्ययनले देखाएको छ ।

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)ले दिएको जानकारीअनुसार भिटामिन ईको कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, बेचैनी हुने, हिंड्न गाह्रो हुने, सधैं बिरामी महसुस हुने जस्ता लक्षण महसुस हुन्छ ।

भिटामिन कमीको सबैभन्दा ठूलो लक्षण मांसपेशी कमजोरी नै पोषणविद् लीलबहादुर नेपाली पनि बताउँछन् । उनका अनुसार यसको कमीले स्नायु र मांसपेशीमा क्षति पुर्‍याउन सक्छ । भिटामिन ईको कमीले आँखाको रेटिना पातलो हुने र आँखाको भित्री तहमा समस्या हुन्छ ।

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले विभिन्न उमेरमा भिटामिन ई दैनिक सेवन गर्नुपर्ने उल्लेख गरेको छ ।

नवजात शिशु : ४ मिलिग्राम

६ महिनादेखि १ वर्ष : ५ मिलिग्राम

१ देखि ३ वर्ष : ६ मिलिग्राम

४ देखि ७ वर्ष : ७ मिलिग्राम

८ देखि १३ वर्ष : ११ मिलिग्राम

१४ वर्षभन्दा माथिः १५ मिलिग्राम

स्तनपान गराउने महिला : १७ मिलिग्राम

Must View