नागरिक पोष्ट News


मुद्दती निक्षेपमा दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क

742

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ६० करोड १२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ३० करोड दुई लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १० करोड गरी कुल दुई अर्ब १४ लाख रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

आगामी जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६५ दिन अवधिका लागि राख्न लागिएको निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले वैशाख १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने राष्ट्र बैङ्कले बुधबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने राष्ट्र बैङ्कको सर्त छ ।

निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेजस्ता सर्त राखिएको छ ।

Must View