नागरिक पोष्ट News


अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मुख्य समस्या : अर्थमन्त्री

651

काठमाडौं  । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने, ‘शिथिलता के कारण आयो, निजीक्षेत्र यस विषयमा जानकार छ ।’

अर्थतन्त्रको दुईओटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ ग¥यो,’ महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्नु जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु ।’

ब्याजदरले अवश्य पनि समस्या सृजना गरेको भन्दै ब्याजदरले बजारमा पूँजी प्रवाह नभएको उनले बताए । मौद्रिक नीतिमार्फत बजारमा पूँजी प्रवाह गर्दै उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको महतको भनाइ छ । ‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ । यसको प्रभावकारिता बढाउन जरुरी छ,’ उनले भने ।

वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न नसकेको र पूँजीगत खर्चमा समस्या आएकाले अबका आयोजनाहरू यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुर्मुराउने परम्परा छ, यसरी हुँदैन । पहिलो दिनदेखि नै हामीले काम शुरू गर्नुपर्छ भनेर सबै मन्त्रालयका साथीहरूसँग कुरा गरिरहेका छौं ।’

Must View