नागरिक पोष्ट News


अपाङ्गता भएका व्यक्तिहरूले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाए

1.2K

काठमाडौँ  । भूमिकला पौडेल, राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक केशव प्रसाद बिमलीलाई एक ध्यानाकर्षणपत्र बुझाउँनु हुँदै प्रतिष्ठानले सञ्चालन गर्ने सीपमूलक तालिमहरू तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्राथमिकता दिएर समावेश गराउका लागि अनुरोध गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुराहरूमा प्रतिष्ठानद्धारा सञ्चालन गरिने तालिमको पाठ्यक्रमलाई अपाङ्गतामैत्री तवरले परिमार्जित गरी अपाङ्गताको प्रकृति र उनीहरूको क्षमताको आधारमा तालिमहरू सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानले गर्ने प्रशिक्षकहरूका लागि प्रशिक्षण कार्यक्रमहरूमा अझ वढी अपाङ्गता भएका व्यक्तिहरूको संख्या थपेर तालिम सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानबाट आवहान गरिने आशयपत्र र प्रस्तावनाहरूमा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको संघसंस्थालाई प्राथमिकता दिनुपर्ने, प्रतिष्ठानका उद्यमशिलता विकास तालिम, कार्यस्थलमा आधारित तालिममा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरिनुपर्ने, प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिहरू सीप सिक्न आएको खण्डमा उनीहरूको अवस्था हेरेर आवासगृहको व्यवस्था गरिदिनु पर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ तथा नियमावली २०७७, अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने लगायत रहेका छन् ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा छलफलमा उठेका कुराहरूलाई संवोधन गर्ने क्रममाः व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक केशव प्रसाद बिमलीले प्रतिष्ठानलाई अपाङ्गता भएका व्यक्तिहरूको सवालका बारेमा ध्यानाकर्षण गराईदिएकोमा आयोजक संस्था तथा उपस्थित प्रतिनिधीहरूलाई धन्यवाद दिनुहुँदै आगामी दिनहरूमा प्रतिष्ठानद्धारा सञ्चालन गरिने तालिमहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई समेत हुने गरी समावेशी तवरले गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Must View