नागरिक पोष्ट News


म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान

616

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान की मुनले म्यान्मारमा तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । म्यान्मारका उच्च सैनिक अधिकारीहरूसँगको आकस्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव बानले सोमबार म्यान्मारको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव बान उक्त समूहका उपाध्यक्ष हुन् ।

म्यान्मारको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव बान त्यहाँ पुगेका हुन् । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदा सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० र संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।

Must View