नागरिक पोष्ट News


क्यान्सर भएका बालबालिकाले निःशुल्क औषधि पाउने

0.9K

काठमाडौँ। नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिएकी हुन् । 

ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । स्वास्थ्य सचिव गुरागाईंले सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने जानकारी दिईन् । ती औषधि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार प्रयोग हुनेछन् । 

नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधि निःशुल्क वितरण भइरहेको छ । बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निःशुल्क औषधि प्राप्त गर्न लागेको हो । 

यससम्बन्धी कार्यलाई अघि बढाउन गत चैत २९ र ३० गते अमेरिकाको टेनिसी राज्यस्थित मेम्फिस सहरमा ग्लोबल प्लेटफर्म टु एक्सेस चाइल्डहुड क्यान्सर मेडिसिन (जीपीएसीसीएम) पूर्वप्रक्षेपण सम्मेलन आयोजना गरिएको थियो । सो कार्यक्रममा भाग लिन नेपालबाट स्वास्थ्य सचिव देवकुमारी गुरागाईंको नेतृत्वमा कान्ति अस्पताललगायतका निर्देशक, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसहितको प्रतिनिधिमण्डल अमेरिका गएको थियो । 

नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ । नेपालभरमा वार्षिक एक हजार पाँच सय बालबालिका विभिन्न क्यान्सर रोगबाट पीडित हुने अनुमान गरिएको छ । नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उपचार गर्ने व्यवस्था मिलाउन जीआईसीसीले निःशुल्क अभियान सुरु गरेको हो । 

Must View