रानीपोखरी सर्वसाधारणका लागि खुला : कतिबेला जान पाइन्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो ।
नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाममा यो पोखरी बनाएका हुन् । पोखरीमा एक सय आठ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।