नागरिक पोष्ट News


उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको चुनावी एजेन्डा सार्वजनिक

672

काठमाडौं । आसन्न नेपाल उद्योग वाणिज्य महासंघका चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले आफ्नो प्यानलसहितको चुनावी एजेन्डा सार्वजनिक गरेका हुन् ।

श्रेष्ठका चुनावी एजेन्डा ६ ओटा छन् । जसमा सफल, सबल र सुदृढ निजीक्षेत्र, निजीक्षेत्रको प्रतिस्पर्धी क्षमतामा वृद्धि, नेपालको अर्थतन्त्रमा संरचनागत सुधार, नीति, नियम र नियमनमा सरकारसाग सहकार्य, सरकार र निजीक्षेत्रका बीचमा समन्वय र सहकार्य र घरेलु, साना तथा मझौला उद्योगहरूको विकास रहेका छन् ।

‘नेपाल उद्योग वाणिज्य महासंघले देशभरिका व्यावसायीहरूको हक र हितको संरक्षण गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनवरत रूपमा अगाडी बढेको छ । विश्व परिवेशमा भइरहेका परिवर्तनलाई मान्यता दिँदै खुला बजार अर्थतन्त्रको विकासमा प्रभावकारी र महत्वपूर्ण योगदान पु¥याउने महासंघको लक्ष्य रहेको हुँदा, यी लक्ष्य हासिल गर्नका लागि महासंघको आगामी नेतृत्वका लागि मैले दाबी पेस गरेको छु,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको अर्थतन्त्रमा हाल देखिएका समस्याको समाधान गर्नका लागि, नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक रूपान्तरणको रणनीतिक कार्यान्वयन गर्दै उत्पादनमुखी अर्थतन्त्रको निर्माणका लागि निजी क्षेत्रको भूमिका बढाउनु आजको अपरिहार्यता भएको श्रेष्ठले बताएका छन् । नेपालमा निजी क्षेत्रको भूमिका र क्रियाशीलता बढाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको विस्तारका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी हो ।

‘व्यवसायीहरूको आत्मनिर्भरता र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको राष्ट्रिय लक्ष्यलाई समर्थन गर्दै देशको व्यापार र उद्योगको सर्वोच्च प्रतिनिधि निकायको रूपमा काम गर्ने र सरोकारवाला स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँगको सहकार्यलाई मित्रवत् र रणनीतिक ढङ्गबाट अगाडी बढाउने योजना बनाएको छु,’ उनले भने ।

Must View