मौरीपालनबाटै आत्मनिर्भर
गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् ।
उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५०सम्म मौरीका घार छन् ।
मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख रु ५० हजार, तेस्रो वर्ष २५ लाख र चौथो वर्ष रु १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ ।
उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमेरै बित्ने गर्छ । घरमा अहिले एक सय ५० मौरीका घार छन् । उनले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आएकी छन् ।
चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनका साथै मौरीमा देखिने रोगकारीको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।
मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरूको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् ।